नियम
बोलकबोलद्वारा ऋणपत्रको प्राथमिक निष्काशन गर्न सक्ने

(१) बैङ्कले बोलकबोलद्वारा ऋणपत्रको प्राथमिक निष्काशन गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम ऋणपत्र निष्काशन गर्ने प्रयोजनको लागि बैङ्कले बोलकबोललाई आवश्यकता अनुसार प्रतिस्पर्धी र अप्रतिस्पर्धी गरी दुई भागमा विभाजन गर्न सक्नेछ ।
(३) उपनियम (२) बमोजिम विभाजन गर्दा बैङ्कले अप्रतिस्पर्धी बोलकबोलको लागि कम्तिमा पन्ध्र प्रतिशत ऋणपत्र छुट्याउनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम छुट्याइएको ऋणपत्र बिक्री नभई बाँकी रहेको ऋणपत्रलाई बैङ्कले प्रतिस्पर्धी बोलकबोलमा समावेश गर्नेछ ।
(५) उपनियम (१) बमोजिम ऋणपत्र निष्काशन गर्दा बैङ्कले त्यस्तो ऋणपत्रको किसिम, रकम, ब्याजदर, सांवा ब्याज भुक्तानी अवधि, बोलकबोल पेश गर्ने मिति, समय र तरिका लगायतका अन्य आवश्यक विवरण खुलाई राष्ट्रिय स्तरको दैनिक पत्रिकामा सूचना प्रकाशन गरी ऋणपत्र खरिद गर्न बोलकबोल आव्हान गर्नेछ ।
(६) उपनियम (५) बमोजिमको सूचना बैङ्कले आफ्नो वेबसाइटमा समेत राख्नेछ ।
(७) उपनियम (५) वा (६) बमोजिम प्रकाशित सूचना अनुसार प्रतिस्पर्धी बोलकबोलको हकमा जुनसुकै व्यक्ति, फर्म, कम्पनी वा संस्था र अप्रतिस्पर्धी बोलकबोलको हकमा बैङ्कलेबाट प्रचलित कानून बमोजिम ‘क’, ‘ख’ र ‘ग’ वर्गको वित्तीय कारोबार गर्न इजाजत प्राप्त गरेका संस्था बाहेकका अन्य व्यक्ति, फर्म, कम्पनी वा संस्था बोलकबोलमा सहभागी हुन सक्ने छन् ।